|
|
कात्तिक 20 । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति र सहकार्यका आधारमा मुलुकमा विद्यमान सबै समस्याको समाधान खोजिने बताउनुभएको छ ।
नेपाल तरुण दलले मधेसकेन्द्रित दलको आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण अत्यावश्यक खाद्यान्न र औषधि आपूर्तिमा देखिएको समस्या हटाउन तथा भूकम्पपीडित नागरिकको भत्केका बासस्थान पुनःनिर्माणका लागि घोषित आर्थिक सहायता यथाशीघ्र उपलब्ध गराउन माग गरेर बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले अपार जलस्रोत र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाली जनतालाई समृद्ध तुल्याउन आफूले अब दृढताको साथ काम गरेर परिणाम देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारततर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘अब हामीले गरेर देखाउने बेला आएको छ । हस्तक्षेपकारीलाई घुणा टेकाएरै छाड्छु ।
नेपाली जनताले सबै विधि प्रक्रिया पूरा गरेर बनाएको लोकतान्त्रिक संविधानमाथि अनौठो खाले प्रतिक्रिया खेप्न बाध्य भएको जनाउँदै उहाँले भूकम्पबाट थला परेको अवस्थामा इन्धन रोकिदिएर हाम्रा विकासका प्रयासमा छिमेकीबाट अवरोध सिर्जना गरिएको छ भन्नुभयो । प्रधामन्त्रीले भन्नुभयो– “हामीले अत्यन्तै अमानवीय व्यवहार खेप्नुपरेको छ, भूकम्पबाट घाइते नेपाललाई यस प्रकारको व्यवहार हुनु भनेको अत्यन्त दुखदायी कुरा हो, हामीले छिमेकी मुलुक भारतप्रति कुनै नराम्रो भावना राखेका छैनौँ कुनै अहित हुने कुरा चिताएका छैनौँ ।
नाकाबन्दी छैन भन्नाका लागि आफ्ना सड्ने माछा, टमाटर, घिरौँला पठाइदिने तर ग्यास भने नदिने काम भारतबाट भएको छ, हामीलाई दैनिक ९० बुलेट ग्यास दैनिक चाहिन्छ, तर एकभन्दा बढी आउन दिइएको छैन, खान बन्द गराउन खाना पकाउने ग्यास आयातमा बन्द गरिएको छ, अहिले यो विचित्रको अवस्था सिर्जना गरिएको छ”- प्रधानमन्त्रीले भन्नुभयो ।
सो अवसरमा तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले यथाशीघ्र पुनःनिर्माण प्राधिकरण गठनका लागि संसद्मा पेस भई विचाराधीन विधेयकलाई अन्तिम रुप दिन तथा जनताको विपत्तिमा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । रासस
dainiknepal .com
|
|
No comments:
Post a Comment