Tuesday, November 17, 2015

‘भारतको एउटै जिल्लाका २० हजारसँग नेपाली नागरिकता’

‘भारतको एउटै जिल्लाका २० हजारसँग नेपाली नागरिकता’
काठमाडौं : तीन महिनादेखि आन्दोलनरत मधेसी दलहरुले मधेसमा लाखौं नागरिक नेपाली नागरिकता लिनबाट बञ्चित भइरहेको दाबी गरिरहँदा भारतको एक चर्चित समाचार पत्रले सनसनीपूर्ण समाचार छापेको छ ।

मंगलबार प्रकाशित चर्चित भारतीय पत्रिका नवभारत टाइम्सले नेपाल के सीमावर्ती जिलों में दोहोरी नागरिकता वालों शीर्षकमा छापेको समाचारमा भारतको उत्तरप्रदेश राज्यस्थित महाराजगञ्ज जिल्लाका २० हजार भारतीयले नेपाली नागरिकता लिएको खुलासा गरेको हो ।

दोहोरो नागरिकता प्रकरणले चुनाव आयोगलाई अफ्ठेरोमा पारेको जनाउँदै सो पत्रिकाले नेपालतर्फ ८० किलोमिटर सीमाना जोडिएको महाराजगञ्जका मात्रै २० हजार बासिन्दा दोहोरो नागरिकतावाला भएको उल्लेख गरेको छ ।


‘एक्लै महारगञ्ज जिल्लाको करिब ८० किलोमिटर सीमाना नेपालसँग जोडिएको छ ’, नवभारत टाइम्सले लेखेको छ, ‘जहाँका ४० गाउँमा लगभग २० हजार दोहोरो नागरिकतावाला रहेका छन् । यिनीहरुसँग नेपाल र भारत दुबै देशको नागरिकता रहेको छ ।’

दोहोरो नागरिकता लिएकाहरुले महाराजगञ्ज जिल्लामा लोकसभा, विधानसभा, गाउँ पञ्चायदेखि लिएर क्षेत्र पञ्चायको चुनावमा पनि भाग लिइरहेको पत्रिकाले दाबी गरेको छ ।

‘सोनौली क्षेत्र एक्लैमा मात्रै एक हजार दोहोरो नागरिकतावाला रहेका छन्’, सुत्रलाई उधृत गर्दै पत्रिकाले लेखेको छ, ‘उनीहरु सबैजसो नेपालको बेलहिया र भैरहवाका मूलनिवासी हुन् ।’

नवभारत टाइम्सले म‍ंगलबार छापेको समाचार
दोहोरो नागरिकताको समस्या एक्लै नेपालको मात्रै नभएर भारतको पनि रहेको पत्रिकाले उल्लेख गरेको छ ।

‘यो समस्या नेपालको मात्रै होइन । सीमामा रहेका भारतका सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोन्डा, श्रावस्ती र लखिपुरको पनि हो । यी ठाउँमा यस्ता हजारौं मामिला बाहिर आएका छन् ।’

पत्रिकाले दोहोरो नागरिकता भएकाहरुसँग मताधिकार भएमा उनीहरुलाई मत हाल्ने काममा पनि कसैले रोक्न नसक्ने लेखेको छ । ‘यस्तो अवस्थामा यसबारे उजुरी गरिएमा दोहोरो नागरिकताबारे जाँच गर्न सकिन्छ’, पत्रिका अगाडि लेख्छ, ‘तर एक पटक चुनाव भइसकेपछि यो प्रक्रिया त्यतिकै सेलाएर गइजान्छ ।’

महाराजगञ्जका डीएम सुनिलकुमार श्रीवास्वले दोहोरो नागरिकता राख्नुलाई अपराध भनेका छन् । ‘दोहोरो नागरिकता राखिनु अपराध हो’, उनले भनेका छन्, ‘यदि यस्ता व्यक्तिले चुनावका क्रममा भोट हालेको उजुरी परेमा उनीहरुमाथि अवश्य कानुनी कारबाही हुन्छ ।’
- annapurna post

No comments:

Post a Comment