Friday, October 30, 2015

राज्यका सबै पद गुमेपछि कांग्रेसमा रुवावासी, कोइरालाको पारिवारिक शासन अन्त्य हुँदै


१३ कार्तिक, काठमाडौँ ।अघिल्लो पटक आफ्नो क्षमताको मूल्यांकन गर्न नसक्दा एकीकृत नेकपा (माओवादी) ले राज्यका प्रमुख पदहरू गुमाएजस्तै यसपटक नेपाली कांग्रेसले पनि सबै पद गुमाएपछि सो पार्टीभित्र खैलाबैला शुरु भएको छ । भारतीयको योजनामा प्रधानमन्त्रीमा उम्मेदवारी दिएका सुशील कोइराला नेकपा (एमाले) र एमाओवादीको संयुक्त गठबन्धनका उम्मेदवार खड्ग ओलीसँग पराजित भए । सभामुखमा उम्मेदवार नै नपाएपछि उम्मेदवारी दिन नसकेको कांग्रेसले उपसभामुख समेत गुमाउन बाध्य भयो । हुँदा–हुँदा अहम्को राजनीति गर्दै आएको कांग्रेसले राष्ट्राध्यक्षको पद समेत गुमाएको छ ।

प्रमुख दलहरूबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति र सो सहमतिको अन्तर्यमा रहेको भद्र सहमतिलाई लत्याएर भारतको गोटी बनेपछि कांग्रेस इतिहासको कर्नरमा नराम्ररी धकेलिएको छ । भक्तपुरमा मात्रै राजनीतिक अस्तित्व रहेको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले त कांग्रेस सभापति कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बन्न लगाइएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

राष्ट्रपति डा. रामवरण यादवको निवास शीतलनिवासमा भारतीय संस्थापन पक्षका उच्च अधिकारीले कोइरालालाई पेस्तोल देखाएर प्रधानमन्त्रीको उम्मेदवार बनाएको उनको दाबी छ । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला, भारतीय राजदूत रणजित राय र नाम नखुलेका एक भारतीय दूत समेतको बैठकमा भारतीय पक्षको खुला दलाली गर्ने अमरेश सिंहले कोइरालालाई शीतलनिवासमा पेस्तोल ताकेको बताइन्छ । यस्तो सनसनीपूर्ण खुलासा हुँदा समेत कोइराला चूँसम्म बोलेका छैनन् ।
कमल थापाको राप्रपा नेपाल फुटाउने, राप्रपाको भोट पनि आफूतिर तान्ने र एकीकृत नेकपा (माओवादी) बाट बाहिरिएर क्षेत्रीय दल खोल्ने ध्याउन्नमा लागेका डा. बाबुराम भट्टराई पक्षमा रहेका २० जना सांसद्लाई कोइरालाको पक्षमा मतदान गराउने आश्वासन रणजित राय, केभी राजन र भारतीय खुफिया एजेन्सी ‘रअ’का पूर्व प्रमुखले दिएका थिए । तर राष्ट्रियताको पक्षमा उभिएको एमाओवादी नेतृत्वको एमाले गठबन्धनले भारतीय योजनालाई धुलिसात् पारिदिएपछि कांग्रेसले प्रधानमन्त्री त गुमायो नै, त्योभन्दा बढी राष्ट्रपति र उपराष्ट्रपति समेत गुमाउने अवस्थामा पुगेको छ ।

भारतीय पक्षले कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालाई समेत विभिन्न आश्वासन दिएर प्रभावित पारेको थियो । राष्ट्रपति रहेका डा. यादवले त पौडेललाई बोलाएर सभापति बनाइदिने भन्दै तत्कालका लागि कोइरालालाई प्रधानमन्त्री बनाउन अर्ती दिएका थिए । तराई मधेशका भनेर चिनिएका र विगतदेखि नै भारतीय योजनामा चल्ने डा. यादवको कुरा पौडेललाई पनि मनासिब लाग्यो र उनी शीतलनिवासबाट हान्निंदै आएर कोइरालाको प्रस्तावक बने । देउवाको भने अर्कै दाउ थियो, आगामी महाधिवेशनमा सभापति बन्न कोइरालालाई जसरी भए पनि हराउनै पर्ने अवस्था देखिएको थियो । भारतीय संस्थापन पक्ष र खुफिया एजेन्सीको योजनामा कोइरालालाई मोहोरा बनाउन देउवा लागिपरे र समर्थक बनिदिए ।

कांग्रेसमा यसपटक कसैले बाजी मारेको छ भने त्यो देउवाले नै हो । उनी आगामी महाधिवेशनमा विना रोकतोक कांग्रेस सभापति बन्दैछन् । संविधानसभाको दोस्रो निर्वाचनपछि राज्यका सबै निकायमा कांग्रेसीकरण गरेको कांग्रेस एमाले, माओवादी गठबन्धनपछि कर्नरमा धकेलिएको मात्रै छैन, राजनीतिक परिदृश्यमा ठूलो पार्टी भएर पनि नराम्ररी पछारिएको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

- newspati.com बाट साभार

No comments:

Post a Comment