|
|
नयाँदिल्ली, ९ कात्तिक । अफगानिस्तानको हिन्दुकुश पर्वत आपसपास केन्द्रबिन्दु बनाएर आज गएको महाभूकम्पबाट भारतको राजधानी दिल्लीसहित उत्तरी भारतमा निकै ठूलो क्षति पुगेको छ ।
स्थानीय समय अनुसार, दिउँसो पौने ३ बजे गएको ७.७ रेक्टर स्केलको भूकम्पबाट उत्तर भारतमा निकै ठूलो झट्का महसुस भएको भारतीय संचारमाध्यमले जनाएका छन् । भूकम्पको झट्का करिब तीन मिनेटसम्म महसुस गरिएको थियो ।
भूकम्प आउनसाथ मानिसहरुको भागदौड मच्चिएको थियो भने दिल्लीमा मेट्रो रेल सेवा बन्द भएको छ ।
दिल्ली, हरियाणा, पंजाब, उत्तर प्रदेश, राजस्थान, पश्चिम बंगाल, श्रीनगर समेत भारतका अधिकांश भाग भूकम्पबाट हल्लिएको थियो ।
भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको दक्षिण पश्चिम जर्मबाट ४५ किलोमिटर टाढा हिन्दुकुशमा रहेको बताइएको छ । यो स्थान राजधानी काबुलबाट २५६ किलोमिटर उत्तरमा पर्छ । भूकम्पको केन्द्र धरतीबाट करिब १ सय ९० किलोमिटर टाढा थियो ।
भूकम्पबाट भारतको श्रीनगरमा टेलिफोन लाइन खराब भएको छ । लगातारको भीषण बर्षापछि आएको भूकम्पले अधिकांश ठाउँको अबस्था असमान्य रहेको बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनधनको क्षतिको विवरण संकलन गर्न निर्देशन दिएका छन् ।
पाकिस्तानमा भीषण क्षति
सोमबारको महाभूकम्पबाट पाकिस्तानमा ज्यान गुमाउनेको संख्या २७ नाघेको छ । भारत र अफ्गानिस्तानमा पनि ठूलै मानवीय क्षति भएको अनुमान गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार, अहिलेसम्म २७ जनाको मृत्यु र सयौँ नागरिक घाइते भएको पाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ । पाकिस्तानमा भारतमा भन्दा ठूलो भूकम्पको झट्का महसुस गरिएको थियो । पाकिस्तानमा भूकम्पको धक्का ८.१ रेक्टर स्केल रहेको बताइएको छ । आज दिउँसो पौने तीन बजे अफगानिस्तानको हिन्दुकुश पर्वत आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अफगानिस्तान, पाकिस्तान र भारतसम्म क्षति पुगेको हो । भारतको उत्तरी क्षेत्रका थुप्रै राज्यमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ ।
भूकम्पको सामान्य धक्का पूर्वी नेपाल र काठमाडौँमा समेत महसुस गरिएको छ ।
|
|
No comments:
Post a Comment