Wednesday, October 28, 2015

थारु आन्दोलन तुहाउने क–कसले पाए पुरस्कार ? (नामसहित)

काठमाडौं, ११ कात्तिक । कुनै बेला मधेसी दलहरूले ‘एक मधेस एक प्रदेश’को माग लिएर तराई मधेसका जिल्लाहरूमा उग्रआन्दोलन गरिरहेका बेला मधेस आन्दोलन खण्डित गर्न प्रमुख भूमिका खेलेको थारु कल्याणकारिणी सभाको आन्दोलन दोधारमा छ । सिमाङ्कन र थारुका लागि अधिकार माग गर्दै साढे दुई महिनादेखि आन्दोनलमा संघर्षरत थारु आन्दोलनकारीहरूको आन्दोलनलाई तुहाउन थारु नेताहरू नै सक्रिय भएपछि थारु आन्दोलनले उचाइँ पाउन नसकेको हो ।

आन्दोलन तुहाउने खेलामा सक्रिय थारु नेता र अधिकारको पक्षमा आन्दोलन गर्नेहरूको कित्ता स्पष्ट भएपछि अब थारु आन्दोलनले आफ्नो दिशा लिने थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री राजकुमार लेखीले बताउनुभयो । नवलवसारीमा कात्तिक ८ र ९ गते दुई दिनसम्म चलेको थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाले आन्दोलन तुहाउन भूमिका खेल्ने थारु नेताहरूको सूची तयार पारेको स्रोतको भनाइ छ । ती नेताहरूलाई आन्दोलन र थारु गतिविधिमा बन्देज लगाउने निर्णय भेलाले गरेको छ ।

थारु कल्याणकारिणीको नवलपरासी राष्ट्रिय भेलालाई लिएर थारु आन्दोलनकारीहरू दुई भागमा विभाजित पनि भएका छन् । विशेष गरेर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र महासचिव रामजनम चौधरीले थारु आन्दोलनलाई विभाजन गरेको आरोप भेलाले लगाएको छ । थारु आन्दोलनलाई कमजोर बनाएपछि वर्तमान सरकारमा फोरम लोकतान्त्रिकका तर्फबाट गच्छदार र चौधरीलाई पुरस्कारवाफत मन्त्री बनाएको थारु कल्याणकारिणी सभाको आरोप छ ।

थारुहरूले राखेका मागलाई बिचबाटोमा छाडेर गच्छदार र रामजनम चौधरी मन्त्री बन्न पुगेपछि थारु आन्दोलन झन् कमजोर भएको स्वयं फोरम लोकतान्त्रिकका केही नेताहरूले स्वीकार गरेका छन् । उता, थारु कल्याणकारिणीको राष्ट्रिय भेलाले सरकारसँगको वार्ता र आन्दोलनलाई साथसाथै अगाडि बढाउने निर्णय गरेको छ । भेलाले सरकारसँग हुने अबका वार्तामा कांग्रेस, एमाले, एमाओवादीलगायतका दलका थारु सांसदहरूलाई सहभागी नगराउने निर्णय गरेको लेखीले बताउनु भयो ।


‘अबको वार्तामा थारुवान/थारुहट संयुक्त संघर्ष समितिका सदस्यहरू मात्रै सहभाग हुन्छन्’, उहाँले भन्नुभयो, ‘थारु आन्दोलन तुहाउने थारु सांसदहरूलाई वार्तामा बस्ने अधिकार छैन र बस्न पनि दिँदैनौँ ।’ उता, राष्ट्रिय भेलाले थारु कल्याणकारिणी सभाका अध्यक्ष एवम् थारुवान/थारुहट संयुक्त संघर्ष समितिका संयोजक धनीराम चौधरीलाई आन्दोलनप्रति इमानदार भएर लाग्न आग्रह गरेको छ । टीकापुर घटनापछि पक्राउपर्ने डरले चौधरी लुकेर हिँड्ने गरेकाले आन्दोलनप्रति धेरै सक्रिय हुन नसकेका हुन् । भेलाले आन्दोलनप्रति चासो नदेखाएको भन्दै अध्यक्ष चौधरीको आलोचना पनि भएको छ । पक्राउ पर्ने डरले अध्यक्ष चौधरी भेलामा सहभागी नहुनु भएको हो । भेलाको उदघाटनसत्र उपाध्यक्ष कन्नुलाल चौधरी र बन्दसत्र उपाध्यक्ष हरिदेवी चौधरीको अध्यक्षतामा गरिएको थियो ।

भेलामा कार्यपत्र र आन्दोलनका विषयमा उठेका जिज्ञासाको जवाफ राजकुमार लेखीले दिनुभएको थियो । भेलामा सांसदहरूलाई नबोलाएको लेखीले बताउनुभयो । उहाँले आन्दोलनलाई तुहाउन भूमिका खेलेको सांसदहरूलाई आगामी कार्यक्रमहरूमा पनि सहभागी नगराउने बताउनुभयो । भेलामा तीन सय बढी थारु अगुवा नेताहरूको सहभागिता रहेको थियो । उता, थारु कल्याणकारिणी सभाको राष्ट्रिय भेलाको निर्णयअनुसार थारु आन्दोलनकारी आन्दोलनमा सक्रिय हुन थालेका छन् ।

आन्दोलनका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहकार्य गरेर जाने निर्णय गरेको भेलाले अबका आन्दोलन मधेसीहरूसँग मिलेर गर्ने लेखीले उल्लेख गर्नुभयो । थारुहरूले अबदेखि सडक र नाका केन्द्रित आन्दोलन गर्ने थारु कल्याणकारिणी सभाका पूर्व महामन्त्री लेखीले बताउनुभयो । उता, थारु कल्याणकारिणीका अध्यक्ष धनीराम चौधरीलाई प्रभावमा पारेर फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार र महासचिव रामजनम चौधरीले थारु आन्दोलनका नाममा संकलन गरेको पैसाको हिसावकिताका विषयमा पनि भेलामा प्रश्न उठेको छ । थारु आन्दोलनमा खर्च भएको रकमको जानकारी दिनुपर्ने आन्दोलनकारीहरूभित्र उठ्न थालेपछि रामजनम चौधरीसहितका थारु नेताहरू समस्यामा परेका छन् । -दैनिक नेपालमा प्रकाशित समाचार छ ।

No comments:

Post a Comment