Friday, November 6, 2015

नाकावन्दी मात्र कि नेपालमाथि मोदीको आतंककारी हमला ?

शुक्रबार, २० कार्तिक भारत सरकारले गरेको नाकाबन्दी सामान्य कुरा अब रहेन । यसको परिणाम स्वरुप नेपाल र नेपाली जनतालाई भएको क्षति भारतको मुम्बईमा भएको आतंककारी हमला भन्दा पनि ज्यादै धेरै भैरहेको विज्ञहरुले बताएका छन् । नेपाल सरकारका परराष्ट्र मन्त्रीले भारतीय नाकावन्दी शब्द उच्चारण गर्न पनि हिम्मत गरिरहेका छैनन् ।
कुटनीतिमा नरम र शालिन भाषा प्रयोग गर्ने नाममा अत्यन्तै कमजोर तरिकावाट भारतीय नाकाबन्दीको विरोध नेपाल सरकारले गरिरहेको छ । भारत सरकारले भने अहिलेसम्म पनि नाकावन्दी नै होइन भनेर सफेद झुठ बोलिरहेको छ ।

भारतको मुम्बईमा सन् २००८ नोभेम्बर २६ देखि २९ सम्म आतंककारी हमला भएको थियो । त्यसवेला भएको आतंककारी हमलामा मुम्बईका अनेक स्थानमा एकसाथ आतंककारीहरुले हमला गरेका थिए । मुम्बईको प्रसिद्ध ताज होटल र ओवेराय होटलमा पनि ती आतंककारीहरुले हमला गरेका थिए । ताज होटलमा भएको आक्रमणवाट भएको भीषण आगलागी टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रशारण गरेका थिए । ती आक्रमणहरुमा भएको क्षतिपुर्ति स्वरुप ती होटलहरुले विमा वापत पछि २ अर्व ९४ करोड रुपैयाँ पाएका थिए ।
नेपालमा भने भारतीय नाकाबन्दीको परिणाम स्वरुप दैनिक न्युनतम पाँच अर्ब बराबर क्षति भइरहेको विज्ञहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग क्षेत्रमा करिब दुई अर्व बराबरको घाटा दैनिक रुपमा व्यहोरीरहेको बताएको छ । कृषि, पर्यटन, शिक्षा, साना व्यापार आदि सबै क्षेत्रको हिसाब गर्ने हो भने दैनिक न्युनतम पाँच अर्ब बराबरको क्षति भैरहेको विज्ञहरुले बताएका छन् ।
यस अर्थमा अहिलेको नाकावन्दी भारतको मुम्बईमा भएको आतंककारी हमला भन्दा पनि ठूलो आतंककारी हमला भएको विश्लेषकहरुले बताउन थालेका छन् । यस नाकाबन्दीले भूकम्पले क्षतविक्षत बनाएको नेपाली अर्थतन्त्रलाई थप गम्भीर नोक्सान गर्दै नेपालको अर्थतन्त्र नै ध्वंस गर्ने नियत राखेको प्रष्ट हुँदैछ । यसवाट सबभन्दा प्रभावित गरिव र निम्न मध्यम वर्गका नेपाली हुने र नेपाली जनताको समग्र जीवन स्तर ध्वंस गर्दै अप्ठेरोमा पारेर भारतीय सत्ताले नेपालका नदि नाला कब्जा गर्ने निकृष्ट उद्देश्य बोकेको रहस्य खुल्दैछ ।
यस्तो आतंककारी हमला विरुद्ध सशक्त आवाज उठाउनुको सट्टा रुन्चे स्वरमा मात्रै विरोध गर्नु र नाकाबन्दी शब्द उच्चारण पनि गर्न तर्सने नेपाल सरकारको दास मानसिकताले नेपाललाई कता पुर्‍याउँछ भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल सरकारका नयाँ प्रधानमन्त्री तथा सबै दलहरुका नेताहरुले सर्बदलीय बैठक वसेर संयुक्त विरोध वक्तव्य सम्म पनि जारी नगर्नु तथा नयाँ प्रधानमन्त्रीले जनतालाई अपीलसम्म पनि नगर्नुले ठूला नेताहरु विरुद्ध जनतामा आशंका उब्जन थालेको देखिन्छ ।
- nepalsandesh .com बाट साभार

No comments:

Post a Comment