|
|
काठमाडौं, १९ कात्तिक । नेपालमा बढ्दो संकटमा संयुक्त राज्य अमेरिकाले चिन्ता जनाएको छ । विहीबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंस्थित अमेरिकी राजदूतावासले नेपाल भारत सीमामा भइरहेको अवरोध र त्यसले निम्त्याएको समस्याबारे चासो र चिन्ता ब्यक्त गरेको हो ।
सीमाको अस्थिर अवस्थाले वैशाखको विनाशकारी भूकम्पका कारण प्रभावित क्षेत्रहरूमा लगायत इन्धन, औषधि र खाद्य सामाग्रीको गम्भीर अभावले संकट झन झन बढ्दै गइरहेको विज्ञप्तिमा उल्लेख छ ।
अमेरिकाले नेपालमा संकट गहिरिँदै गएको बेलामा सबैलाई सहयोग गर्न आह्वान समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ- नेपालको जनजीवन जोखिममा रहेको छ र मानवीय संकट आउने हो कि भन्ने चिन्ता हामीलाई छ । यस संकटलाई समाधान गर्नका लागि संलग्न सबैलाई आफ्ना प्रयासहरु पुनः दोब्बर बनाउन संयुक्त राज्य अमेरिका आह्वान गर्दछ ।’
उसले सबै नेपालीका आकांक्षाहरूलाई संविधानले समेट्नेगरी अर्थपूर्ण राजनीतिक संवादको सकारात्मक वातावरण बनाउने कार्यमा सबैले योगदान गर्न आग्रह गरेको छ । नेपाली जनता र नेपाल सरकार आफ्नो लोकतान्त्रिक मार्गमा अगाडि बढिरहेको र विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा जुटेको यस घडीमा आफू उनीहरूलाई सहयोग गर्न तयार रहेको कुरा अमेरिकाले विज्ञप्तिमा भनेको छ ।
- दैनिक नेपाल
|
|
No comments:
Post a Comment