|
|
एमाओवादीमा विद्रोह गरेर नयाँ शक्तिमा आए केही कार्यकर्ता
उदयपुर, ११ मङ्सिर । एकीकृत नेकपा (माओवादी) पार्टीबाट राजीनामा दिएर अर्को ‘नयाँ शक्ति’ गठन गरिरहनुभएका पूर्व माओवादी नेता डा बाबुराम भट्टराईको नयाँ शक्तिको उदयपुर जिल्लामा पनि जिल्ला तदर्थ समिति गठन भएको छ ।
बिहीबार साँझ गाईघाटस्थित होटल नमस्तेमा एनेकपा (माओवादी) उदयपुरबाट केही कार्यकर्ताले विद्रोह गरेर नयाँ शक्ति गठन गरेका थिए । आज उक्त नयाँ पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ समिति गठन भएको कुरा सो समितिका जिल्ला सदस्य श्यामकुमार भगतले बताउनुभयो ।
नयाँ शक्तिमा हाल माओवादीका आठजना जिल्ला पार्टी कार्यकर्ता विद्रोह गरेर नयाँ शक्ति (पार्टी) खोलेको पनि जिल्ला सदस्य भगतले बताउनुभएको छ ।
आठ सदस्यीय जिल्ला तदर्थ समिति गठन भएको उक्त पार्टीका जिल्ला संयोजकमा खुम्बराज खत्री (अदब) रहेको पनि सो पार्टीले बताएको छ ।
अन्य सदस्यहरुमा भैरव श्रेष्ठ, जगदीश साह, विजेन्द्रलाल कर्ण, राजेन्द्र दनुवार, शत्रुधन साह, श्याम भगत र अर्जुन धमला रहेका छन् ।
उनीहरुले एनेकपा (माओवादी) उदयपुरबाट विद्रोह गरेर नयाँ शक्तिमा विलय भएको भन्दै आफूहरु एनेकपा (माओवादी) पार्टीको साधारण सदस्यसमेत अब नरहेको पनि आज एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन् ।
नयाँ शक्तिका संयोजक खत्री एनेकपा (माओवादी) पार्टीका पूर्व जिल्ला सहसचिव हुन् भने अन्य जिल्ला सदस्य र केही इलाकास्तरीय सदस्य रहेका थिए ।
उदयपुरमा नयाँ शक्ति पार्टीको गठन सो शक्तिका किरात तथा कोचिला राज्यका इन्चार्ज राजेन्द्र किरातीको उपस्थितिमा भएको पनि बताइएको छ ।
नयाँ जिल्ला सदस्य भगतका अनुसार अझै पनि अन्य व्यक्तिहरु पनि एनेकपा (माओवादी) उदयपुरबाट विद्रोह गरेर आफूहरुसँग आउन लागेका छन् । रासस
- dainik nepal बाट
|
|
No comments:
Post a Comment