|
|
म्याग्दी, १३ पुस । उपप्रधान मन्त्री केसीले अहिले मन्त्रिपरिषद् जम्बो बनाउनु सरकारको बाध्यता भएको बताउनुभएको छ ।
नयाँ संविधानको प्रचार अभियानअन्तर्गत जिल्ला विकास समिति पर्वतले आज सदरमुकाम कुश्माबजारमा आयोजना गरेको कार्यक्रममा सङ्क्रमणकालीन अवस्थामा सबै पक्ष र सबै दललाई समेटेर लैजानका लागि मन्त्रिपरिषद् ठूलो भएको बताउनुभयो ।
नेपाली काँग्रेस सरकारमा सहभागी नहुँदाको उपज मन्त्रिपरिषद् ठूलो बनेको बताउँदै केसीले जम्बो टोली भए पनि जनताको पक्षमा देखिने गरी काम गर्ने दाबी गर्नुभएको छ ।
मन्त्री केसीले मन्त्रिपरिषद् ठूलो भयो भनेर चौतर्फी आलोचना आउनु स्वाभाविक भएको पनि बताउनुभयो ।
“प्रमुख तीन दल मिलेर नै सरकार बनाउनुस् भन्यौँ, तर उहाँहरु मान्नुभएन र हामी फालिएको खान पुग्यौँ” केसीले भन्नुभयो– “मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण भएको महँगी, कालोबजारी नियन्त्रण गर्न नसक्नुले पछुताउनुपरेको छ ।”
उहाँले आफू राजधानी छाडेपछि प्रधानमन्त्रीले बिना छलफल मन्त्रिपरिषद् विस्तार गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिबाट प्राप्त गरेको नयाँ संविधानका कारण जनताले नाकाबन्दीको सजाय पाएको भन्दै सरकारको मुख्य काम नै अहिले कालोबजारी र महँगी नियन्त्रण गर्ने भएको बताउनुभयो । मन्त्री केसीले राष्ट्रियतालाई छाडेर विदेशीले भनेअनुसार सम्झौता गर्नै नहुने धारणा राख्नुभयो । “बाह्य शक्तिले भनेको मान्दै जाने हो भने कालान्तरमा नेपाल सिक्किम बन्न सक्छ” केसीले भन्नुभयो ।
उहाँले आफूले सत्य कुरा बोल्दा मन्त्री पद धरापमा पर्ने चेतावनी आएको पनि खुलासा गर्नुभयो । “राष्ट्रियताभन्दा ठूलो मन्त्री पद होइन, सत्य कुरा बोल्दा मन्त्री पद जान्छ भने मन्त्री छाड्न आफू तयार छु” केसीले भन्नुभयो ।
कार्यक्रममा सांसद विकास लम्साल, कल्पना चापागाईं, काँग्रेस पर्वतका सभापति लालकाजी गुरुङ, एमाले पर्वतका अध्यक्ष पदम गिरीलगायतले संविधान सबैका लागि उत्कृष्ट रहेपनि बुझाउन नसक्दा समस्या भएको धारणा राख्नुभएको थियो । रासस
-dainik nepal
|
|
No comments:
Post a Comment