|
|
दिल्ली यात्राका लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव आज (शनिबार) बिहारतर्फ प्रस्थान गरेका छन् ।
सद्भावना अध्यक्ष महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले बिहारको सीतामढीस्थित अस्पतालमा उपचार गराई रहेका मधेस आन्दोलनका घाइतेलाई आजै बिहान भेट गरी स्वास्थ्य अवस्थाका विषयमा जानकारीसमेत लिनुभएको छ ।
सद्भावना पार्टीका महासचिव मनीस सुमनका अनुसार महतो र यादवले सीतामढीस्थित नन्दीपथ मेमोरियल अस्पतालमा उपचार गराई रहेका घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।
सर्लाही जिल्लाको नवलपुरमा बिहीबार भएको झडपमा दर्जनौ घाइते भएका थिए । केही आन्दोलनकारीको अवस्था गम्भीर थियो । चुरे भावर राष्ट्रिय एकता पार्टीले मधेसी मोर्चाको आन्दोलनमा आक्रमण गर्ने तयारी गरिरहेका बेला मोर्चा र प्रहरीबीच नवलपुरमा झडप भएको थियो ।
घाइतेलाई अस्पतालमा भेट गरेपछि सद्भावना अध्यक्ष महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले बिहारका पूर्व सांसद प्रो. रघुवशंप्रसाद सिंहसँग पनि भेटवार्ता गर्नुभएको छ । भारतीय नेता सिंहले महतो र यादवलाई सीतामढीमा भब्य स्वागतसमेत गरेका छन् ।
मधेस आन्दोलनमा पूर्ण समर्थन दिदैं नेपाल–भारत सीमामा आन्दोलनको समर्थनमा पूर्व सांसद सिंहले मैत्री यात्रा निकालेका थिए ।
सीतामढीबाट महतो र यादव सिधैँ पटना प्रस्थान गर्नुभएको छ । उहाँहरू आजै पटना हुँदै नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
यसैबीच, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भोलि (आइतबार) नयाँदिल्लीप्रस्थान गर्नु हुनेछ । आइतबार बिहान आठ बजेको उडानबाट यादव र ठाकुर नयाँदिल्ली जान लाग्नु भएको हो ।
यसअघि शुक्रबार साँझ वार्ता छाडेर मधेसी मोर्चाका नेताहरू भारतीय राजदूतावासमा गएका थिए । भारतीय राजदूत रणजित रायसँग भेट गरी रात्रि भोज खाएर उनीहरू फिर्ता भएका थिए । शुक्रबार रातिको भेटवार्तामा नै मधेसी मोर्चाका नेताहरूको नयाँदिल्ली भ्रमण तयार पारिएको थियो ।
नयाँदिल्ली पुग्ने मधेसी मोर्चाका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबल, लगायत दर्जन नेता र उच्च अधिकारीसँग भेटवार्ता गर्ने स्रोतको भनाइ छ ।
मधेसी मोर्चाका नेताहरूलाई नयाँदिल्ली भ्रमणका क्रममा स्वागतमा भारतीय प्रधानमन्त्री मोदी र सुष्मा स्वराजले रात्रिभोज दिनु हुने बुझिएको छ ।
नयाँदिल्ली भ्रमणका बेला नेपालको राजनीतिक अवस्था, मधेस आन्दोलन र सहमतिको प्रयासका विषयमा छलफल हुनेछ ।
- dainik nepal
|
|
No comments:
Post a Comment