|
|
तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान ८ः१५ बजे नयाँ दिल्ली प्रस्थान गरेको तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भने शनिबार नै भारत भ्रमणका लागि गइसक्नुभएको छ । भारत सरकारको निमन्त्रणामा नयाँ दिल्ली पुगेका मधेसकेन्द्रित नेताहरु भारत सरकारका साथै विपक्षी दलका नेतासँग भेटघाट गरी बुधबार फर्किने महामन्त्री शुक्लले जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री कमल थापाको भारत भ्रमणलगत्तै मधेसकेन्द्रित नेता भारत भ्रमणमा जानुभएको हो । भ्रमणका क्रममा मधेसकेन्द्रित नेताले नेपाल सरकारका तर्फबाट पराराष्ट्रमन्त्री थापाले अघोषित नाकाबन्दी खोल्ने सम्बन्धमा भारतसँग गरेको भनिएको सहमतिका बारेमा समेत जानकारी माग्ने र आफ्नो मागका बारे छलफल गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
मधेसकेन्द्रित नेताहरुले नयाँदिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता सोनिया गान्धी, विदेशमन्त्री सुष्मा स्वराज, नेताहरु डिपी त्रिपाठी, सीताराम यचुरीलगायतसँग भेटघाट गर्ने तमलोपाका अर्का महामन्त्री जितेन्द्र सोनलले बताउनुभयो ।
भ्रमणका क्रममा रहँदा नेताहरुले मधेसमा करिब साढे तीन महिनादेखि जारी आन्दोलन र त्यसको समाधानका लागि सहमति जुटाउने बारेमा छलफल गर्ने बताइएको छ । रासस
|
|
No comments:
Post a Comment