Wednesday, October 28, 2015

राष्ट्रपतिको मतदान सकियो, ५४९ सांसदले भोट हाले


साँझ ५ बजे मतपरिणाम घोषणा हुने 
काठमाडौँ ११ कातिक । राष्ट्रपति चयनका लागि आज भएको निर्वाचनमा कूल ५४९ सांसद्ले मतदान गर्नुभएको छ ।
नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद्को ल्होत्से हलमा बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु भई दिउँसो २ बजेसम्म चलेको थियो ।

संसद्मा हाल कायम रहेका ५९७ सदस्य मध्ये ५४९ जनाले मतदानमा भाग लिनुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
मतदानमा ४७ सांसद् अनुपस्थित रहनुभएको छ । एक सांसद् निलम्बनमा रहेकाले मतदानमा भाग लिन पाउनुभएन । मतदान सकिएकाले अब अपरान्ह २ः३० बाट मतगणना प्रारम्भ हुने छ भने साँझ ५ बजे बस्ने संसदको वैठकमा मत परिणाम घोषणा गरिनेछ ।
राष्ट्रपतिमा नेकपा (एमाले) बाट विद्यादेवी भण्डारी र नेपाली काँग्रेसबाट कूलबहादुर गुरुङ प्रतिस्पर्धी हुनुहुन्छ । सत्तारुढ गठबन्धनको पक्षमा प्रष्ट बहुमत भएकाले विद्या राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो छ । मधेसी मोर्चाका ४२ सभासदसहितका केही दल मतदान प्रक्रियामा सहभागी भएनन् । रासस

No comments:

Post a Comment